logo सोमबार, साउन ११ २०८३

बजेटको पूर्वसन्ध्यामा ईभीको आयात बढ्यो


  • बिचार खबर
  • बुधबार, जेष्ठ ७ २०८२

बजेटको पूर्वसन्ध्यामा ईभीको आयात बढ्यो This photo taken on April 18, 2024 shows BYD electric cars for export waiting to be loaded onto a ship at a port in Yantai, in eastern China's Shandong province. (Photo by AFP) / China OUT (Photo by STR/AFP via Getty Images)

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आउने तयारी भइरहँदा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ ।  रसुवा र तातोपानी नाका हुँदै भित्रिने ईभी त्यहाँका सुक्खा बन्दरगाहमा नअटाएपछि चोभारसम्म ल्याइएको छ ।

आगामी बजेटमा सरकारले भन्सार दर बढाउने चर्चा चलेपछि ईभीको आयात ह्वात्तै बढ्न थालेको छ । केही वर्ष यता ईभी आयातमा सरकारले बजेटमार्फत कर बढाउँदै आएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् पनि ईभीमा कर बढाएको थियो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले शून्यदेखि ५० किलोवाटसम्मका गाडीमा २० प्रतिशत कर कायम गरेका थिए  ।  जसमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत छ । यस्तै २०० देखि ३०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत कायम गरिएको छ । ३०० किलोवाटभन्दा बढी क्षमताका ईभीमा भन्सार शुल्क ८० प्रतिशत र अन्तःशुल्क ५० प्रतिशत तोकिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भन्सार दर अझ बढ्ने हल्लाले ईभीको आयात बढेको जानकारहरू बताउँछन् ।

अहिले चोभार सुक्खा बन्दरगाह ईभीले भरिभराउ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाए ।

‘दुई साता यता चोभारमा ईभीको सङ्ख्या बढेको छ । यसअघि ५०० वटा ईभी पार्किङमा हुन्थे । अहिले १ हजारभन्दा बढी रहने गरेका छन्,’ उनले भने, ‘तातोपानी र रसुवा नाका हुँदै आउने गाडी एक दिनमै चोभार सुक्खा बन्दरगाह आइपुग्छन् । बिक्री नहुन्जेलसम्म चोभार बन्दरगाहमै  राख्ने गरेका छन् ।’

मंगलबारमात्रै १ हजार ४५० वटा सवारी भित्रिएकोमा ४०० बाइक आयात भएका छन् भने ४९ वटा पेट्रोलियम पदार्थबाट चल्ने सवारी छन् । यसैगरी १ हजार १ वटा चारपाङ्ग्रे तथा ठुला ईभी आयात भएका छन् ।

यसमध्ये सबैभन्दा धेरै सीजी मोटर्सले आयात गरेको छ । सीजी मोटर्स प्रालिको २९३ वटा कार आयात गरिएको छ । यसैगरी एमएडब्लु वृद्धि मोटर्सस प्रालिले २११ वटा कार, एसपीजी अटोबाइल प्रालिले १३९ वटा कार, जगदम्बा मोटर्स प्रालिको १२३ वटा कार, साङ्ग्रंीला इन्टरन्यास्नल फ्रेट वीटी लिमिटेडले ११८ वटा कार, साङ्ग्रीला  मोटर्स प्रालिको ७९ वटा कार, एनईभी नेपाल प्रालिको ७२ वटा भ्यान र १ वटा बस, पाइनियर मोटो क्रप्स प्रालिको ५ वटा कार, प्रज्ञान मोटर्स प्रालिको १२३ वटा भ्यान, सीआइएमइएक्स आईएनसी प्रालिको ४  वटा बस आयात भएका हुन् ।

रसुवाबाट  भित्रियो ११ अर्बभन्दा बढी मूल्यको ईभी

rasuwa

रसुवा भन्सार नाका हुँदै दैनिक एक सयदेखि १५० हाराहारीमा ईभी आयात भइरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेलले जानकारी दिए । उनका अनुसार रसुवा भन्सार नाकाबाट वैशाख मसान्तसम्ममा १३ अर्ब ७७ करोड रुपैयाँ बराबरको ५ हजार ७०१ वटा  सवारी साधन आयात भएको छ  । सो परिमाणमा उक्त सवारी आयात हुँदा ८ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये पेट्रोलियम पदार्थबाट चल्ने २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ७६१ वटा सवारी आयात भएका छन् ।

यसैगरी ११ अर्ब ४ करोड रुपैयाँ बराबरको ४ हजार ५५१ वटा चार पाङ्ग्रे विद्युतीय सवारी (ईभी) आयात भएको छ । सो परिमाणमा ईभी आयात हुँदा ६ अर्ब ९५ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यसैगरी ५ करोड बराबरका ३८९ वटा तीन पाङ्ग्रे ईभी आयात हुँदा ३ करोड राजस्व सङ्कलन भएको छ ।

तातोपानीबाट १० अर्ब बराबरको ईभी आयात

tatopati_page-0001

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले दैनिक ३० /४० थान सवारी साधन आयात भइरहेको बताए । ‘यहाँको सुक्खा बन्दरगाहमा पनि होल्ड भएर बसेका छन् । जेठ १५ अघि नै भन्सार जाँचपास गराउनु पर्ने छ,’ उनले भने, ‘१४ गतेसम्म भन्सार राजस्व तिरिसकेको हुनु पर्छ । अहिले भन्सार परिसरमा १ हजार १०० वटाभन्दा बढी गाडी छन् ।’

काफ्लेका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म यो नाकाबाट १० अर्ब १ करोड ९४ लाख रुपैयाँ बराबरको  ३ हजार ९४७ वटा ईभी आयात भएका छन् । सो परिमाणमा ईभी आयात हुँदा ५ अर्ब ४० करोड १६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

तातोपानीबाट वैशाखमै भित्रिए १२ सयभन्दा बढी ईभी

तातोपानी नाकाबाट वैशाखमा मात्रै ३ अर्ब ११ लाख रुपैयाँ बराबरको १२१८ वटा जाँचपास भएका छन् । सो परिमाणमा आयात हुँदा १ अर्ब ६६ करोड ८० रुपैयाँ राजस्व सङ्कलन भएको छ  । कुल आयात भएका सवारीमध्ये ११ देखि १४ सिटरका २०१ वटा छन् । यस्तै ५० किलोवाट क्षमतासम्मका जीप, भ्यान र कार २३८ वटा आयात भएका छन् ।

यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६८२, १०१ किलोवाटदेखि २०० सम्मका जीप, कार भ्यान ७० वटा, पीकअप ४ वटा, ट्रक ४ वटा र अन्य चारपाङ्ग्रे ईभी १९ वटा आयात भएको जनाएको छ ।

‘सडक बिग्रिएर रोकिएका करिब १०० हाराहारीमा अब आउन बाँकी छन्  । तिनलाई अस्थायी रूपमा बाटो बनाएर ल्याउने तयारी हुँदैछ,’ काफ्लेले भने, ‘लामो लाइन छैन होला । अब धेरै आए ५०/६० वटाको सङ्ख्यामा आउँछ होला ।’

 


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij