काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ। प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङतानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, थप १ थान खाली म्यागजिन र १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यसैगरी गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइ राखिएको अर्को कटुवा पेस्तोल १ थान र एमएम लेखिएको १२ राउण्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधतर्फ स्याङतानको घरबाट अफिमजस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम बरामद गरिएको छ। यससँगै लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ।
स्याङतान आपराधिक गतिविधिमा संलग्न पुनरावृत्तिपूर्ण पात्र रहेको खुलेको छ। ०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद भुक्तान गरेका थिए। ०७६ साल साउन ४ गते, लागूऔषध र हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका स्याङतान ०८१ सालको माघमा छुटेका थिए।
हाल पुनः लागुऔषध र अवैध हातहतियारसहित पक्राउ परेका स्याङतानमाथि आवश्यक अनुसन्धान तथा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij