logo मंगलबार, भाद्र ३० २०८३

गीतकार लोकराज अधिकारी ‘राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान’बाट सम्मानित


  • बिचार खबर
  • शुक्रबार, पुष १८ २०८२

गीतकार लोकराज अधिकारी ‘राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान’बाट सम्मानित

ललितपुर । प्रसिद्ध गीतकार लोकराज अधिकारी अभिनन्दित भएका छन् ।

१३औ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पर्यटन बोर्डमा आयोजना गरेको विशेष कार्यक्रममा गीतकार अधिकारीलाई राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान २०८२ बाट अभिनन्दन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रबिधीमन्त्री जगदीश खरेल, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भवानी राणा र आयोजक संस्थाका संरक्षक राजानन्द माण्डव्यले संयुक्तरुपमा दोसल्ला र अभिनन्दन पत्रले सम्मान गरेका हुन् ।

नेपाली गीति लेखनको क्षेत्रमा लोकगीत , दोहोरी गीत, आधुनिक गीत, बाल गीत, गजल, चलचित्रका गीत र राष्ट्रिय गीत गरी १६० भन्दा बढी गीत लेखेर राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन योगदान दिएको भन्दै कदर स्वरूप गीतकार अधिकारीलाई अभिनन्दन गरिएको आयोजकले जनाएको छ । उनका दर्जनौँ गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् । गीतकार अधिकारी अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय सिङगर्स सङग राइटर एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय अवार्डको दुई वटा शृङ्खलामा लगातार मनोनयनमा परेका एक मात्र नेपाली गीतकार पनि हुन् ।

कार्यक्रममा अन्य विभिन्न विधामा आफ्नो तर्फबाट योगदान दिएकाहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार इन्जिनियर शङ्कर नाथ रिमाल,टोपी अभियन्ता शंकरनाथ बन्जाडे, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि दीपेन्द्र ढकाल, लेखक साहित्यकार अर्चना झा,सामाजिक अभियन्ता अरविन्द गौतम, पत्रकार भोजराज थापा, पत्रकार राजन नेपाल,नेपाल जेसिज २०२६का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ लुना लुइँटेल, सञ्जेलजी महाराज,दीप किशोर भट्टराई,र कवीन्द्र न्यौपानेलाई आफ्नो क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रबिधीमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र दिवस मनाउने कुरामा आफू साथमा रहेको बताए । केही दिन अघि नै भनेको भए मन्त्रिपरिषद्ले कुनै न कुनै निर्णय गरिसकेको हुने तर अलिक ढिला भएको पनि उनले बताए । उनले सदियौँदेखि राष्ट्रले मान्यता दिएको बताउँदै सरकारले मान्यता दियो दिएन भन्ने गौण हुने बताए । उनले २०६८ सालदेखि यसलाई महत्त्व नदिइएको स्मरण गर्दै जसले दिएनन् जहाँबाट दिइएन त्यो गलत भएको भन्दै तर त्यसमा खुसीको कुरा जोडिएको पनि बताए । उनले जुन दिन देखि सरकारी मान्यता दिइएन त्यो दिन देखि झन् हरेक जसो औपचारिक कार्यक्रममा नवजवानहरुले दौरा सुरुवाल लाउन थालेको बताए ।

उनले देश भित्र पनि र विश्व मानचित्रमा पनि नेपाल र नेपालीको पहिचान जोगाउनु पर्ने बताए । उनले अहिले राष्ट्रिय एकताको प्रतीक भनेकै नेपाली चन्द्र सूर्य अङ्कित झण्डा मात्र रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij