logo बुधबार, भाद्र ३१ २०८३

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने


  • बिचार खबर
  • आइतबार, चैत्र २२ २०८२

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ ।

‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ ।

गाउँ–गाउँमा सिनेमा पुर्‍याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ। हाम्रो गाउँ, हाम्रो कथा, हाम्रो सिनेमा भन्ने नारालाई सार्थक बनाउँदै यसले देशका तीनै भौगोलिक क्षेत्रलाई एक सूत्रमा बाँध्ने प्रयासलाई निरन्तरता दिनेछ।

महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषीका फिल्महरू गाउँकै दर्शकमाझ निःशुल्क प्रदर्शन गरिनेछ। अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij