logo बुधबार, भाद्र ३ २०८३

साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रतिष्ठित ‘राष्ट्रसेवक सम्मान’


  • बिचार खबर
  • आइतबार, जेष्ठ ३ २०८३

साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रतिष्ठित ‘राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी सफल व्यवस्थापक उर्मिला श्रेष्ठ लाई ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ । व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

लामो समयदेखि उद्योग, व्यापार तथा व्यवस्थापन क्षेत्रमा सक्रिय श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ ।

उहाँको नेतृत्वमा निजी क्षेत्रको सुदृढीकरण, महिला उद्यमशीलताको प्रवर्द्धन, संस्थागत सुशासन तथा आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ । विशेषगरी महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउन उहाँले खेलेको भूमिका प्रेरणादायी मानिएको आयोजकको भनाइ छ ।

दूरदर्शी सोच, अनुशासित कार्यशैली तथा प्रभावकारी नेतृत्व क्षमताका कारण श्रेष्ठ नेपाली निजी क्षेत्रको सफल महिला नेतृत्वका रूपमा स्थापित भएको उल्लेख गरिएको छ । महिला नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उनको योगदान उल्लेखनीय रहेको जनाइएको छ ।

सामाजिक सेवामा समेत सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उहाँले नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसअघि पनि श्रेष्ठ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भइसक्नुभएको छ । महिला सशक्तीकरण, उद्यमशीलता विकास, सामाजिक उत्तरदायित्व तथा उत्कृष्ट व्यवस्थापकीय क्षमताका लागि उहाँलाई राष्ट्रिय महिला आयोग लगायत संस्थाले सम्मान गरिसकेका छन् । साथै युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड बाट समेत उहाँ सम्मानित भइसक्नु भएको छ ।

७५ वर्ष लामो इतिहास बोकेको नेपाल चेम्बर अफ कमर्समा पहिलोपटक महिलाको तर्फबाट उपाध्यक्ष बन्ने गौरवसमेत श्रेष्ठले हासिल गर्नुभएको छ । उक्त उपलब्धिलाई नेपाली निजी क्षेत्र तथा महिला नेतृत्वका लागि ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij