logo शुक्रबार, भाद्र ५ २०८३

वर्षावास अधिष्ठान कार्यक्रममा धर्मराज पाठकको प्रतिबद्धता: बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक


  • बिचार खबर
  • बिहिबार, साउन १४ २०८३

वर्षावास अधिष्ठान कार्यक्रममा धर्मराज पाठकको प्रतिबद्धता: बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक

थारु भाषामार्फत गौतम बुद्धका उपदेशको महत्व उजागर गर्दै प्रदेश सभा सदस्य पाठकले भने– पञ्चशीलको पालना गरे मानव समाज दुःख र अशान्तिबाट मुक्त हुन सक्छ

कैलाली, बसन्ता ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठकको प्रमुख आतिथ्यतामा कैलारी गाउँपालिका–७, बसन्तास्थित बुद्ध विहार, बुद्ध मन्दिर तथा सुईती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ महिने वर्षावास अधिष्ठान कार्यक्रम–२०८३ सम्पन्न भएको छ।

बसन्ता मिनिपार्कको प्राङ्गणमा आयोजित उक्त धार्मिक तथा सामाजिक कार्यक्रममा बुद्ध विहारका अध्यक्ष कमल बहादुर पुन मगरको अध्यक्षता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य धर्मराज पाठकले बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै यसले अनुशासन, आध्यात्मिक चिन्तन र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले स्थानीय थारु भाषामा सम्बोधन गर्दै भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र मानव कल्याणका सन्देशहरू आजको समाजका लागि अझै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।

“गौतम बुद्धका उपदेश र पञ्चशीलको मार्गलाई सबै मानव समुदायले व्यवहारमा लागू गर्न सके समाजमा शान्ति, सद्भाव कायम हुनुका साथै मानिसहरू दुःख र अशान्तिबाट मुक्त हुने बाटो खुल्छ,” उहाँले भन्नुभयो।

उहाँले बुद्धका शिक्षाहरू कुनै एक धर्म वा समुदायमा सीमित नभई सम्पूर्ण मानव जातिको कल्याणका लागि रहेको बताउँदै नैतिकता, सहिष्णुता र आपसी सम्मानलाई जीवनको आधार बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सुईती सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष पवित्री चौधरी सहित समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। त्यसैगरी नेपाल मगर बौद्ध सेवा समाजका प्रदेश सचिव, केन्द्रीय सदस्य शक्ति प्रसाद श्रीस मगर, नेपाल मगर संघ जिल्ला पूर्वसदस्य खडक बहादुर थापा, बुद्ध मन्दिरका संस्थापक तथा समाजसेवी जितु तुलाधर लगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बुद्ध विहारका पदाधिकारीहरू, सहसचिव पुष्पराज पन्त, सहकोषाध्यक्ष अनुप उपाध्याय लगायत सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यस्तै सुदूरपश्चिमका प्रथम नायक, वरिष्ठ चलचित्रकर्मी तथा शिक्षाविद् अम्बिका प्रसाद आचार्य, कलाकारद्वय मोहन भुसाल र चुडामणि जोशी, जीवन देवल, सुक बहादुर तामाङ, क्यामेराम्यान अनिल चौधरी, जनबोली खबरका पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, भलमन्सा तथा स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन बुद्ध मन्दिर धनगढीका उपाध्यक्ष पर्शुराम चौधरीले गर्नुभएको थियो।

तीन महिने वर्षावास अधिष्ठान बौद्ध परम्परामा विशेष महत्व राख्ने धार्मिक अभ्यास हो। वर्षायाम अवधिभर भिक्षुहरूले एक स्थानमा रहेर ध्यान, अध्ययन, साधना तथा धार्मिक गतिविधिमा समय व्यतीत गर्ने परम्परा रहेको छ। यस कार्यक्रमले आध्यात्मिक विकाससँगै सामाजिक एकता, सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

बसन्तामा सम्पन्न वर्षावास अधिष्ठान कार्यक्रम–२०८३ ले धार्मिक सहिष्णुता, सामाजिक एकता र बुद्धका शान्तिका सन्देशलाई थप प्रभावकारी रूपमा जनसमुदायसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij