काठमाडौं । महाकाव्यमा अभिव्यक्त राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण, प्रकृतिप्रेम तथा मानवीय संवेदनालाई संगीतमार्फत श्रोतामाझ पुर्याउने उद्देश्यले तयार पारिएको गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।
मिलापको आयोजनामा सम्पन्न समारोहमा महाकाव्यकार खेमनाथ दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू सार्वजनिक गरिएको हो। नेपाली काव्य परम्पराको गम्भीर भावभूमिलाई आधुनिक संगीतसँग जोड्ने प्रयासका रूपमा एल्बमलाई प्रस्तुत गरिएको छ।
चलचित्र निर्देशक माधवराज खरेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो। शिक्षाविद् डा. यज्ञेश्वर निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीत र श्रव्यदृश्य माध्यमबाट आमश्रोता, विशेषतः युवा पुस्तासम्म पुर्याउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले ‘जागृति’ केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई नयाँ पुस्तासँग जोड्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।
समारोहमा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम अभिव्यक्त भएका छन्।
‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ। ‘बित्छ बिहान आमाको’मा वरिष्ठ गायिका ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा गायक रमेश पाठकले स्वर दिनुभएको छ। एल्बमका सम्पूर्ण गीतमा सन्तोष श्रेष्ठले संगीत सिर्जना गर्नुभएको हो।
कार्यक्रममा गीतहरूको श्रव्यदृश्य प्रस्तुति पनि गरिएको थियो। प्रस्तुति अवलोकनपछि साहित्यकार, कलाकार, संगीतकर्मी तथा अतिथिहरूले एल्बमले साहित्य र संगीतलाई प्रभावकारी रूपमा जोडेको प्रतिक्रिया दिएका थिए।
शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायत वक्ताहरूले महाकाव्यकार दाहालका सिर्जनामा राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनाको सशक्त अभिव्यक्ति रहेको बताउनुभयो।
उहाँहरूले साहित्यका गहन भावलाई संगीतमार्फत जनमानससम्म पुर्याउने प्रयासले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण कार्य भएको बताउनुभयो। मूल काव्यको छन्द, लय, भाव र दर्शनलाई यथासम्भव अक्षुण्ण राख्दै संगीत सिर्जना गरिएको उहाँको भनाइ थियो।
“महाकाव्यका श्लोकलाई संगीतमा ढाल्दा धुनमात्र सिर्जना गरेर पुग्दैन। काव्यको आत्मा, दर्शन र संवेदनालाई पनि स्वरमार्फत जीवन दिनुपर्छ,” उहाँले भन्नुभयो।
महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यका श्लोकहरू गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। साहित्यलाई पुस्तकको सीमाभन्दा बाहिर निकालेर संगीतमार्फत आमश्रोतासम्म पुर्याउने अभियानमा संलग्न कलाकार, संगीतकर्मी, आयोजक तथा सञ्चारकर्मीप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
उहाँले साहित्यलाई जीवन्त राख्न समयअनुकूल विभिन्न माध्यमबाट प्रस्तुत गरिनुपर्ने धारणा राख्नुभयो।
प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको बताउनुभयो। महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्याउने प्रयासको प्रशंसा गर्दै उहाँले यस्ता अभियानले नेपाली भाषा, मौलिक संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
“कविता स्वरमा रूपान्तरण हुँदा त्यसले मनोरञ्जनमात्र दिँदैन, चेतना, संस्कार र सांस्कृतिक स्मृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि गर्छ,” उहाँले भन्नुभयो।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो। मिलापद्वारा प्रकाशित वर्ष १७, अंक १ को विशेष आवरणमार्फत प्रदान गरिएको सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान समग्र साहित्यिक समुदायको सम्मान भएको बताउनुभयो। कार्यक्रममा उहाँले कविता वाचनसमेत गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको बताउनुभयो। उहाँले ‘जागृति’ले नेपाली काव्य, संगीत तथा संस्कृतिप्रेमीमाझ दीर्घकालीन सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्नुभयो।
यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन साहित्यकार, कलाकार, सांस्कृतिक संस्था र सञ्चारमाध्यमबीच अझ सशक्त सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली, पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल र गीता दाहाललगायत साहित्य, संगीत, कला तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
तेह्रथुमको लाब्रीमा जन्मिनुभएका महाकाव्यकार खेमनाथ दाहाल हाल काठमाडौंलाई कर्मथलो बनाउँदै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ। उहाँले कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, समीक्षा तथा नियात्रा विधामा योगदान दिनुभएको छ।
उहाँका प्रकाशित कृतिमा ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’, ‘म त बन्दी भएको छु’, ‘यात्राको सिकर्नी’, ‘अहोरात्र’ र ‘सिर्जनामा दृष्टि’ लगायत रहेका छन्।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij