काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार विजय गुरुङ र गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङको स्वरमा रहेको नयाँ नेपाली गीत ‘साउनको पानी’ सार्वजनिक भएको छ। प्रेम, सम्झना र वर्षायामको भावनालाई मन छुने ढंगले प्रस्तुत गरिएको गीतले नेपाली संगीतप्रेमीको ध्यान आकर्षित गरिरहेको छ।
साउनको झरीसँगै जाग्ने प्रेम, पुराना सम्झना र भावनात्मक अनुभूतिलाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ। विजय गुरुङको शब्द रचना तथा तृप्ति खड्का गुरुङको संगीत रहेको गीतमा तृप्ति खड्का गुरुङ र वैकुण्ठ प्रधानको स्वर सुन्न सकिन्छ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन् भने रेकर्डिङ तथा निर्माण सारेगामा स्टुडियोमा गरिएको हो। गीतको श्रव्य तथा दृश्य निर्माणसमेत तृप्ति खड्का गुरुङकै पहलमा गरिएको छ।
गीतको भिडियोमा स्वयं विजय गुरुङसँगै पुजन घिमिरेको अभिनय रहेको छ। प्रेम र वर्षाको भावनालाई दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास गरिएको भिडियोको निर्देशन विजय गुरुङले गरेका हुन्।
भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् भने नृत्य निर्देशन सन्तोष खाती र अर्जुन एडीले गरेका छन्। सम्पादन तथा रंग संयोजन मिलन विश्वकर्माले गरेका छन्। मेकअप चन्द्र गुरुङको रहेको छ भने भिडियो सम्पादन ड्रागन पिक्चर्स प्रालिमा गरिएको हो।
त्यस्तै, प्रकाश व्यवस्थापनमा लक्ष्मण खड्का, लोकेश ओली र ओमप्रकाश खड्का रहेका छन्। क्यामेरा व्यवस्थापन प्रशान्त केसीले गरेका छन् भने पोसाक सारिका बुटिक एन्ड कलेक्सनको रहेको छ।
साउनको पानी’मा विजय गुरुङको सिर्जनात्मक शब्द तथा तृप्ति खड्का गुरुङको संगीत र स्वरले प्रेम र वर्षाको भावनालाई अझ प्रभावकारी बनाएको छ। विशेषगरी साउनको झरी, प्रेम र सम्झनासँग जोडिएका श्रोता–दर्शकका लागि गीतले भावनात्मक अनुभूति दिने अपेक्षा गरिएको छ।
सारेगामा स्टुडियोको प्रस्तुतिमा रहेको यस गीतले नेपाली मौलिक संगीतप्रतिको निरन्तर यात्रालाई समेत अघि बढाएको छ। गीत मन परेमा दर्शक–श्रोताले लाइक, कमेन्ट तथा सेयर गर्दै कलाकारको सिर्जनात्मक यात्रालाई साथ दिन सक्नेछन्।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij