logo सोमबार, साउन ११ २०८३

राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’


  • बिचार खबर
  • बिहिबार, जेष्ठ ८ २०८२

राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’

काठमाडौँ । कलाकार दीपकराज गिरीले करिब ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’ मार्फत अभिनयमा कमब्याक गरेका अभिनेता राजेश हमाललाई सफलताको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै फिल्मको सफलताका लागि शुभकामना दिएका हुन् । उनले हमालप्रति आफ्नो मनग्य सम्मान भएको र यो फिल्मले त्यो सम्मान झन् बढोस् भन्ने कामना पनि गरेका हुन् ।

‘चलचित्रहरूलाई धेरै शुभ कामना दिइयो । तर आजको शुभकामना केही फरक छ । हुन त शुभकामना भनेर फोटो राखेर व्याख्या नगरी लेख्ने छुट पनि थियो मलाई, तर मेरो मनले मानेन त्यसैले केही शब्दहरू कोर्दैछू’, उनी अगाडि लेख्छन्– ‘मैले ठुलो पर्दाको कलाकारको रूपमा पहिलो फिल्ममा अभिनय गरे जसको नाम थियो ‘चोर’ । त्यसमा राजेश हमालज्यूसँग पर्दामा सँगै देखिने अवसर जुट्यो । त्यसपछि पहिलो फिल्म निर्माण गर्ने मौका पाए ‘छ एकान छ’ । त्यसमा पनि राजेश हमालज्यूले अभिनय गरिदिएर हामीलाई गुन नै लगाउनुभएको थियो ।’

आफ्नो फिल्ममा सफलता पाउँदा हलमा आएर बधाई समेत दिएको बताएका उनले देश र विदेशमा थुप्रै स्टेज कार्यक्रमहरूसँगै गरेको समेत बताएका छन् ।

‘तर पछिल्ला समयमा स्थिति केही फरक भइदियो । ४ वर्ष अघिको त्यो घटना सम्झन्छु ,जुनबेला कोभिडको महामारी चलिरहेको थियो, त्यतिबेला मेरो सहकर्मीले उहाँबाट यस्तो बेलामा समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो जसलाई सञ्जालले यसरी तोडमोड गरिदियो कि उहाँलाई जनताले दिएको पदवी माथि नै हाम्रो आपत्ति छ, अथवा दाबी नै छ भन्ने भाष्य निर्माण भइदियो, जुन आफैँमा उदेक लाग्दो अपत्यारिलो र असहज थियो’, उनी अगाडि थप्छन् ‘पछिल्ला दिनमा हाम्रो भेट हुँदा पनि त्यही आदर भावले नै भेटेको छु । किनकि आफू जहाँ पुगे पनि संस्कार चाहिँ भुल्नु हुन्न भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij