काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij