बार्सिलोना । सगरमाथा आरोहण गरेका चार जना स्वीस नागरिकलाई नेपाली राजदूतावास,स्विट्जरल्याण्डले एक विशेष समारोहमार्फत सम्मान गरेको छ ।
नेपालको हिमाली भूगोलमा पाइला टेकेका ती अनुभवी आरोहीहरूलाई शनिबार स्विट्जरल्याण्डको राजधानी बर्नमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका ती साहसी पर्वतारोहीहरूले आफ्ना जीवनका अविस्मरणीय क्षण, हिमालसँगको सम्बन्ध र नेपालप्रतिको समर्पण कार्यक्रममै साझा गरे । छपटक सगरमाथा आरोहण गरिसकेका अनुभवी स्वीस पर्वतारोही करि कोब्लर कार्यक्रममा विशेष आकर्षण बने । उनले भावुक हुँदै भने, ‘शेर्पा साथीहरूको साथ, हिमालको मौनता र नेपाली संस्कृतिको आत्मीयताले मलाई बारम्बार तानिरह्यो।’
भेरोनिका आर. मेयर, जसले सन् २००७ मा सगरमाथा चढेकी थिइन्,आफ्ना फोटो र भिडियोमार्फत दर्शकहरूलाई भावुक बनाइन् । त्यस्तै, पिटर ग्स्वेन्ड्टनर, जसले २००४ मा सगरमाथा र २००८ मा मकालु आरोहण गरेका थिए, उनले हिमाली चुनौतीलाई आत्मिक पुनर्जागरणको प्रतीकका रूपमा वर्णन गरे । प्याट्रिक जब्रुन, जसले सन् २००८ मा सगरमाथा सफलतापूर्वक चढेका थिए । उनले भने, ‘शेर्पाहरूले मलाई बाटो देखाए, ऊर्जा दिए, र हिमालको आत्मा सँगै बाँडे। म उनीहरूप्रति जीवनभर ऋणी छु।’
कार्यक्रमको औपचारिक सुरुवात नेपाल र स्विट्जरल्याण्डका राष्ट्रिय गान बजाएर गरिएको थियो।समारोहका प्रमुख अतिथि स्वीस विदेश मन्त्रालयअन्तर्गत एसिया-प्यासिफिक डिभिजनका प्रमुख हाइनरिख शेल्लेनबर्ग थिए।उनले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै नेपाल-स्विट्जरल्याण्ड सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, हिमाली मित्रता र पर्वतारोहणबारे बोलेका थिए । उनले पर्वतारोहणलाई दुई देशबीचको भावना र संस्कृतिको सेतुको रूपमा चित्रित गरे ।
कार्यक्रमको सञ्चालन नेपाली दूतावासका द्वितीय सचिव सुजन लामिछानेले गरेका थिए।सहभागीहरूले नेपाली परिकारसहित प्रस्तुत सांस्कृतिक कार्यक्रमको पनि भरपूर आनन्द लिएका थिए,जसले उनीहरूलाई नेपालमै रहेको अनुभूति गरायो ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij