logo बुधबार, भाद्र ३१ २०८३

घट्दैछ बेलायतको शैक्षिक आकर्षण


  • बिचार खबर
  • शनिबार, जेष्ठ १७ २०८२

घट्दैछ बेलायतको शैक्षिक आकर्षण

अहिले बेलायतको शैक्षिक आकर्षण कम हुन थालेको तथ्यांकहरूले देखाएका छन्। सरकारले सन् २०२४ जनवरीदेखि डिपेन्डेन्ट ल्याउन नपाउने गरी ल्याएको अध्यागमन नियम परिवर्तनले पनि विद्यार्थी संख्या घटेको हो। यसअघि विद्यार्थीले कोर्स नसकिंदै स्पोन्सरसिप लिएर वर्क भिसामा स्वीच गर्ने गर्दथे तर त्यसमा पनि रोक लगाइयो।

गृह मन्त्रालय (होम अफिस) को तथ्यांक अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा अध्ययन भिसा ३१ प्रतिशतले घटेको छ। २०२४ को शुरूमा लागू गरिएको प्रतिबन्धले रिसर्च कोर्ष बाहेक पढ्ने विद्यार्थीलाई आफ्ना परिवार बेलायतमा ल्याउनबाट रोकेको छ।

सन् २०२३ मा ६ लाख २४ विद्यार्थी भिसा स्वीकृत भएकोमा सन् २०२४ मा यो संख्या ४ लाख १५ हजार १०३ मा झरेको छ। बीबीसीका अनुसार, विद्यार्थीका डिपेन्डेन्ट (आश्रित) हरूको भिसामा ८५ प्रतिशत गिरावट आएको छ। सन् २०२३ मा १ लाख ४३ हजार २७६ भिसा जारी भएकोमा २०२४ मा यो संख्या २१ हजार ९७८ मात्र छ।

यससँगै अन्तर्राष्ट्रिय विद्यार्थीको शुल्कमा निर्भर धेरै विश्वविद्यालय संकट उन्मुख रहेका जनाइएको छ। १४१ संस्थाहरूको प्रतिनिधित्व गर्ने युनिभर्सिटिज यूकेले खुद आप्रवासन (नेट माइग्रेसन) घटाउने सरकारको नीतिले बेलायतमा विद्यार्थी संख्या घटेको भन्दै चिन्ता व्यक्त गरेको छ। अध्ययनपछिको काम (पोष्ट स्टडी वर्क) मा अनिश्चितता सिर्जना गर्दा विद्यार्थी संख्या घटेको उक्त संस्थाको बुझाइ छ।

सरकारले एकातिर अन्तर्राष्ट्रिय विद्यार्थीलाई यूके सधैं स्वागतयोग्य हुने बताए पनि हालका वर्षहरूमा देखिएको नेट माइग्रेसन वृद्धि उल्लेखनीय रूपमा घटाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ।

लिंकन विश्वविद्यालयले देशभरका अन्य विश्वविद्यालय जस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि भिसा प्रतिबन्ध लगाउने निर्णयमा पुनर्विचार गर्न सरकारसमक्ष आह्वान गरिरहेको छ। उक्त विश्वविद्यालयले नियम परिवर्तन भएदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरू आउन ५१ प्रतिशत गिरावट आएको बताएको छ।

बेलायतका विश्वविद्यालयहरूमा सामूहिक रोजगार कटौती समेत शुरू भएको छ। बेलायतका करिब ९० विश्वविद्यालयले अनिवार्य र स्वेच्छिक रोजगारी कटौती योजना लागू गरिरहेका छन्। विश्वविद्यालय र कलेज युनियन (यूसीयू) का अनुसार, हालसम्म प्रतिष्ठित रसेल समूहका दुई सहित चार विश्वविद्यालयका एक हजार कर्मचारीले जागिर गुमाउने घोषणा गरेका छन्।

कार्डिफ विश्वविद्यालयले आफ्नो नर्सिङ कार्यक्रम कटौती गर्ने योजना बनाइरहेको छ भने हल विश्वविद्यालयले आफ्नो रसायन विज्ञान विभागलाई हटाउने संकेत दिएको छ। एडिनबर्ग विश्वविद्यालयले कर्मचारी र अन्य अपरेशनल खर्चबाट १४० मिलियन पाउण्ड कटौती गर्ने सोच बनाएको बताइएको छ।

स्ट्राथक्लाइड विश्वविद्यालयले आफ्नो अस्तित्व कायम राख्न सम्पत्ति बेच्न थालेको छ। डन्डी विश्वविद्यालयमा अवस्था अझ गम्भीर रहेको बताइएको छ, जसले आफ्नो ३३५ मिलियन घाटा व्यवस्थापन गर्न २०० शैक्षिक कर्मचारी र ४३५ सहयोगी सहित ६३५ जनालाई जागिरबाट हटाउने घोषणा गरेको छ। संस्थाले सञ्चालन खर्च कटौती गर्दै बौद्धिक सम्पत्ति र भवनहरू बेच्न पनि खोजिरहेको छ।

ब्रेक्जिट अघिसम्म फ्रान्स, इटाली, स्पेन, जर्मनी र आयरल्याण्डका विद्यार्थीको लागि बेलायत शीर्ष गन्तव्य थियो। यद्यपि, स्वतन्त्र आवागमनको अन्त्यपछि बेलायतका विश्वविद्यालयमा भर्ना हुने ईयू विद्यार्थी घटेका छन्। २०२०–२०२१ र २०२२–२०२३ को बीचमा उत्तरी आयरल्याण्ड बाहेक यूके आउने युरोपेली विद्यार्थी संख्यामा तीव्र गिरावट देखिएको छ। यो गिरावट झण्डै ७० प्रतिशत छ। प्राप्त तथ्यांक अनुसार फ्रान्सबाट ३४.३, जर्मनी ३८, इटाली ५०.१, पोल्याण्ड ७८.४ र रोमानियाबाट ८२.३ प्रतिशत विद्यार्थी घटेका छन्।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij