२० हजार रुपैयाँ घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई अदालतले दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको छ । रिसवत घुससहित भ्रष्टाचार मुद्दामा विशेष अदालतले यादवलाई बिहीबार दोषी ठहर गरेको हो ।
विशेषका न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला सुनाउँदै यादवलाई एक महिना कैदका साथै २० हजार रुपैयाँ जरिवाना तोकेको छ । सवारी ज्यान मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाउनुपर्ने क्षतिपूर्ति भुक्तानीका लागि उनले सेवाग्राहीसँग घुस लिएका थिए। लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत ७ मंसिरमा घुस रकमसहित रंगेहात उनलाई पक्राउ गरेको थियो। १ पुसमा मुद्दा दायर भएको थियो।
बरामदी मुचुल्काका क्रममा खिचिएको भिडियोमा यादवले खल्तीबाट कुर्सीमुनि २० हजार खसाएको देखिएको, भिडियोमा देखिएका व्यक्ति उनै भएको भनेर सनाखत भएको र प्रतिवादीले उक्त रकम आफूसँग मागेको भनेर पीडितले गरेको बकपत्रलाई आधार बनाएर अदालतले दोषी ठहर गरेको हो। घुस लेनदेनमा सघाउने दिनेशकुमार साह पनि पक्राउ परेका थिए। साहकाे हकमा भने वस्तुनिष्ट सबुत प्रमाणको अभाव रहेको भन्दै अदालतबाट सफाइको फैसला भएको छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij