देविका बन्दना र किरण कँडेलको स्वरमा रहेको गीत ‘सोलुको मैच्याङ’सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ गीत ल्याएको गायिका देविका बन्दनाले बताउनुभयो । ‘केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरूसँग भेट भएको थियो, उहाँहरूसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए,’ उहाँले भन्नुभयो ।
थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गर्नुभयो । ‘गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छ,’ उहाँले भन्नुभयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिनुभयो ।
देविका बन्दनाकै शब्द रहेको गीतमा किरण कँडेलको संगीत छ । कमल राईको निर्देशनमा बनेको गीतको भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङको अभिनय छ । गीत देविका बन्दनाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गायिका बन्दनाका ‘भरे आउँछु सपनीमा’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तल तल तल तल बेँसीमा मैच्याङ’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’लगायत थुप्रै गीत औधि मन पराइएका छन् ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij