logo बुधबार, भाद्र ३ २०८३

बैतेश्वरका विपन्न महिलाको काठमाडौंमा निःशुल्क शल्यक्रिया


  • बिचार खबर
  • बुधबार, मंसिर १० २०८२

बैतेश्वरका विपन्न महिलाको काठमाडौंमा निःशुल्क शल्यक्रिया

दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका मा समुन्द्र नेपाल को आर्थिक सहयोग र बैतेश्वर अस्पताल को संयोजनमा सञ्चालित स्वास्थ्य शिविरका क्रममा निःशुल्क स्वास्थ्य परीक्षण गर्दा पाठेघर खस्ने समस्या भएका आर्थिक रूपमा विपन्न महिलाहरू पहिचान गरिएको थियो। ती महिलाहरूलाई काठमाडौं ल्याई आवश्यक शल्यक्रिया तथा थप उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइँदैछ।

स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय तथा स्रोत–साधन जुटाउने कार्य गीतकार रमेश दहाल ले ग्रामीणस्तरमै गरेका हुन्। छाउपडीजस्तो सामाजिक कुरीतिविरुद्ध गीतमार्फत जनचेतना जगाउँदै आएका दहालले यसपटक पाठेघर खस्ने जस्तो गम्भीर महिला स्वास्थ्य समस्याको समाधानका लागि पनि सक्रिय भूमिका निर्वाह गरेका छन्।

गाउँपालिकाबाट पहिचान गरिएका ९ जना महिलामध्ये ५ जनाको हाल काठमाडौंको थापाथलीस्थित प्रसूति गृह मा उपचार भइरहेको छ भने बाँकी ४ जनाको उपचार मंसिर महिनाको अन्त्यसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। संस्थाले बिरामीलाई काठमाडौं ल्याउने–लैजाने यातायात खर्च, औषधि खर्च, बिरामी तथा कुरुवाको खाना–खाजा, अस्पतालको बेड शुल्कलगायत सम्पूर्ण खर्च व्यहोरेको जनाएको छ।

संस्थाका महासचिव गोपालध्वज श्रेष्ठ का अनुसार, “महिलाले खुलेर व्यक्त गर्न नसक्ने स्वास्थ्य समस्या पहिचान गरी, नेपाल सरकारले पनि सहज रूपमा समाधान गर्न चुनौती रहने उपचार सेवालाई दुर्गम गाउँ–बस्तीबाटै उठाएर काठमाडौंमा निःशुल्क उपलब्ध गराउनु संस्थाको महत्वपूर्ण सामाजिक योगदान हो। यस पहलले बैतेश्वर गाउँपालिका तथा वडा कार्यालयहरूलाई स्थानीय स्वास्थ्य योजना निर्माणमा समेत सहयोग पुगेको छ।”

त्यसैगरी संस्थाका अध्यक्ष जगत बहादुर दहाल ले पाठेघर खस्ने जस्तो विश्वव्यापी रूपमा देखिने महिला स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि बैतेश्वर गाउँपालिका मात्र नभई इच्छुक अन्य पालिकासँग पनि सहकार्य गर्न संस्था सधैं तत्पर रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij