logo मंगलबार, भाद्र ३० २०८३

जेनजी प्रतिवेदन लुकाए निर्वाचनको औचित्य समाप्त :सर्वेन्द्र खनाल


  • बिचार खबर
  • सोमबार, फाल्गुन ४ २०८२

जेनजी प्रतिवेदन लुकाए निर्वाचनको औचित्य समाप्त :सर्वेन्द्र खनाल

समुन्नत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तत्काल सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न तथा दोषीमाथि कानुनी कारबाहीको सिफारिस गर्न गठन गरिएको उच्चस्तरीय छानवीन आयोगको म्याद थपेर विषयलाई अल्मल्याउन खोजिएको आरोप लगाएका हुन्।

नागरिकन्यूज सँगको कुराकानीमा अध्यक्ष खनालले आयोगले समयमै प्रतिवेदन नबुझाउँदा जेनजी आन्दोलनको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन्।

उनले जेनजी आन्दोलनको उद्देश्यबारे स्पष्ट पार्दै आन्दोलन केवल निर्वाचनका लागि मात्रै नभएको बताएका छन्। उनका अनुसार आन्दोलनका मूल मुद्दा, उपलब्धि तथा जेनजी पुस्ताले खोजेको प्रणालीगत सुधारको विषयलाई सरकारले सही रूपमा बुझ्न नसकेको उनको आरोप छ।

खनालका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू अहिले चुनावी मैदानमै रहेका छन्। आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै पक्ष चुनावी प्रतिस्पर्धामा रहेकाले आयोगको प्रतिवेदनमा दोषी देखिने आशंकाले सरकार दोषी जोगाउन प्रयासरत रहेको उनको दाबी छ। उनले आयोगलाई तत्काल प्रतिवेदन सरकारलाई बुझाई सार्वजनिक गर्न र चुनावमा उम्मेदवार रहेका दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्। अन्यथा निर्वाचनको औचित्य नहुने उनको भनाइ छ।

उनले आगामी निर्वाचनको सट्टा सर्वपक्षीय सरकार गठनको आवश्यकता औंल्याएका छन्। उनका अनुसार भदौ २३ र २४ का घटनामा संलग्न व्यक्तिहरू नै सरकार र संसदमा पुगेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने अवस्था आउनेछ।

पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका खनाल समुन्नत नेपाल पार्टीका तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्। इमान्दारिता, अनुशासन र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण पार्टीप्रति जनविश्वास बढिरहेको उनको दाबी छ।

यस विषयले नेपाल को समसामयिक राजनीतिक बहसलाई थप तीव्र बनाएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij