logo सोमबार, भाद्र २९ २०८३

समावेशी शिक्षातर्फ ऐतिहासिक कदम, बुढानिलकण्ठमा नयाँ विद्यालयको सुरुवात


  • बिचार खबर
  • बुधबार, बैशाख २ २०८३

समावेशी शिक्षातर्फ ऐतिहासिक कदम, बुढानिलकण्ठमा नयाँ विद्यालयको सुरुवात

काठमाडौंको बुढानिलकण्ठस्थित सिम्लेगाउँमा स्थापना हुन लागेको सुरैया सहयात्री विद्यालयको प्रि–ओपनिङ कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। विविध सांस्कृतिक प्रस्तुति, भावनात्मक अभिव्यक्ति र सामाजिक सन्देशले भरिएको कार्यक्रममा उपस्थित सबै अतिथिहरूले विद्यालयको उद्देश्य र भविष्यप्रति आशा व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले अटिजम भएका बालबालिकाका लागि यस्तो विद्यालय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यसअघि पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै आएको र आगामी दिनमा अझ सशक्त रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “स्थानीय सरकारको दायित्व केवल पूर्वाधार विकास मात्र होइन, यस्ता विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा र समावेशी विकासमा समेत हो। नगरपालिकाले यस किसिमका पहलहरूलाई सधैं साथ दिनेछ।”

विद्यालयकी संस्थापक प्रिन्सिपल तथा कार्यक्रमकी अध्यक्ष ललिता प्रसाईंले स्वागत मन्तव्य दिँदै विद्यालय स्थापना गर्नुको उद्देश्य स्पष्ट पारिन्। उनले भनिन्, “अटिजम भएका बालबालिकालाई सम्मानजनक शिक्षा, माया र अवसर दिनु हाम्रो प्रमुख लक्ष्य हो।” उनले यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरिन्। उनी विण्डी हाउस स्कुल , सेन्टर फर अटिज्म र सेन्टर फर अटिज्म झापाको सँस्थापक अध्यक्ष समेत हुन् ।

कार्यक्रममा बोल्दै एक अतिथिले ललिता प्रसाईंको खुलेर प्रशंसा गर्दै भने, “सरकारले गर्न नसकेको महत्वपूर्ण काम आज ललिता प्रसाईंज्यूले गर्नुभएको छ। यो केवल विद्यालय होइन, एउटा सामाजिक आन्दोलन हो।” उनको भनाइले कार्यक्रम स्थल तालिले गुञ्जायमान बनेको थियो।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, बुढानिलकण्ठ प्रहरी वृत्तका इन्स्पेक्टर नारायण सिंह बिष्ट लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै यस्तो पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका निर्देशक सोनित राज ढुङ्गेलको संयोजन र इन्द्रकला दास गुप्ताको उत्कृष्ट सञ्चालनमा कार्यक्रम निकै आकर्षक बनेको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष आकर्षणका रूपमा अटिजम भएका बालबालिकाहरूको प्रतिनिधित्व गर्दै सन्देश मुलकरुपमा प्रस्तुत गरिएको सडक नाटकले समाजमा चेतना फैलाउने सशक्त भाव व्यक्त गरेको थियो।

त्यस्तै, उपस्थितहरुले सुनाएको कविता र प्रस्तुत गरेको गीतले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनीहरूको प्रतिभा, आत्मविश्वास र अभिव्यक्तिले सबैलाई प्रेरित बनाएको देखिन्थ्यो।

अन्त्यमा अटिजम विशेषज्ञ सिर्जना प्रसाईंले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरिन्। उनले यस्ता विद्यालयहरू समाजका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यको खाँचो औंल्याइन्।

कार्यक्रमले अटिजम भएका बालबालिकाको क्षमता, अधिकार र सम्मानप्रति समाजलाई थप संवेदनशील बनाउने सन्देश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij