पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर गण्डकी प्रदेशमा “समतामूलक समाज निर्माणतर्फ साझा पहल” भन्ने नारासहित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
महेश गोदारको अवधारणा तथा संयोजकत्वमा आयोजित उक्त कार्यक्रममार्फत समतामूलक समाज निर्माणका लागि “महाअभियान” को औपचारिक सुरुवात गरिएको हो।
कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। रूपा गाउँपालिका उपाध्यक्ष लालशुभा गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो भने वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुभयो।
कार्यक्रममा १० वटा विभिन्न संघ–संस्थाहरूको संयुक्त सहभागिता रहेको थियो। मानव अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा जनजाति समुदायसँग सम्बन्धित संस्थाहरूले सहकार्य गर्दै कार्यक्रम आयोजना गरेका थिए।
मानव अधिकारकर्मी, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय समूहहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले समावेशी, न्यायपूर्ण र विभेदरहित समाज निर्माणका लागि साझा प्रतिबद्धता जनाएका थिए।
संयोजक महेश गोदारले समतामूलक समाज निर्माण कुनै एक समुदायको मात्र विषय नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले नयाँ वर्ष २०८३ लाई “समता, सहकार्य र सामाजिक न्यायको वर्ष” का रूपमा अघि बढाउने लक्ष्य लिइएको जानकारी दिनुभयो।
प्रमुख अतिथि सरस्वती गुरुङले संविधानले सुनिश्चित गरेको समानता र समावेशितालाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै राज्य, स्थानीय तह र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमका वक्ताहरूले जातीय विभेद, सामाजिक असमानता र अवसरको असन्तुलन अन्त्य गर्न निरन्तर संवाद, सहकार्य र सशक्तिकरण आवश्यक रहेकोमा जोड दिएका थिए।
यसैबीच, महाअभियान अन्तर्गत आगामी जेठ २१ गते पोखराको अमरसिंह मैदानमा ३०औँ राष्ट्रिय विभेद तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ। उक्त कार्यक्रममा “सांस्कृतिक विविधता कार्यक्रम” समेत आयोजना गरिनेछ, जसमा देशभरिका विभिन्न समुदाय, संस्कृति र पहिचानको प्रस्तुति रहने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक गोदारले सबैलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गर्दै छिट्टै पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने बताउनुभयो।