logo बुधबार, भाद्र ३१ २०८३

पोखरामा एसईई र किड्स डान्स च्याम्पियनसिप सम्पन्न, प्रतिभा र स्रष्टाहरू सम्मानित


  • बिचार खबर
  • सोमबार, जेष्ठ २५ २०८३

पोखरामा एसईई र किड्स डान्स च्याम्पियनसिप सम्पन्न, प्रतिभा र स्रष्टाहरू सम्मानित

पोखरा, बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एसईई डान्स च्याम्पियनसिप–२०८३, किड्स डान्स च्याम्पियनसिप सिजन–१ (गण्डकी प्रदेश) तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, शिक्षाविद्, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिभा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी प्रतिभावान बालबालिका तथा युवाहरूले उत्कृष्ट नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रमले कला क्षेत्रको विकाससँगै नयाँ पुस्तालाई प्रोत्साहन प्रदान गरेको आयोजकले जनाएको छ।

किड्स डान्स च्याम्पियनसिप सिजन–१ का विजेताहरू

प्रतियोगितामा योजना कश्यप विजेता घोषित भइन्। इभा गुरुङ प्रथम उपविजेता, अनुष्का कुमाल द्वितीय उपविजेता, आयुष्मा पुलामी मगर तृतीय उपविजेता तथा करिश्मा गुरुङ चतुर्थ उपविजेता घोषित भए। पब्लिक च्वाइस अवार्ड समेत योजना कश्यपले प्राप्त गरिन्।

त्यसैगरी ओशिका गुरुङ ‘मोस्ट इनर्जेटिक पर्फर्मर’, इशाना श्रेष्ठ ‘बेस्ट स्किल’ तथा प्रनिशा बस्नेत ‘बेस्ट एक्सप्रेसन’ अवार्डबाट सम्मानित भइन् भने राम लामा ‘बेस्ट कोरियोग्राफर’ घोषित भए।

एसईई डान्स च्याम्पियनसिप–२०८३ का विजेताहरू

एसईई डान्स च्याम्पियनसिपतर्फ नमुना गुरुङ विजेता, दीपेश सुनार प्रथम उपविजेता तथा साजन राना मगर द्वितीय उपविजेता बने।

प्रतियोगिताका विजेताहरूलाई क्रमशः रु. २० हजार, रु. १५ हजार र रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तीनै जना प्रतियोगीहरूले गुरुकुल विद्या साधनमा कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।

पुरस्कार तथा छात्रवृत्ति

किड्स डान्स च्याम्पियनसिपका विजेताहरूलाई क्रमशः रु. ५० हजार, रु. ३० हजार र रु. २० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। अन्य फाइनलिस्टहरूले ५० प्रतिशत छात्रवृत्ति सुविधा प्राप्त गर्नेछन्।

स्रष्टा सम्मान

कार्यक्रमकै अवसरमा कला, साहित्य, संगीत तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने चार जना व्यक्तित्वलाई ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा वरिष्ठ गीतकार, संगीतकार तथा साहित्यकार पद्मराज ढकाल, वरिष्ठ नृत्य निर्देशक केशबहादुर गुरुङ, अधिवक्ता तथा सामाजिक अभियन्ता अञ्जनी परियार ‘प्यासी’ तथा साहसी महिला मैया नेपाली रहेका छन्।

बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले यस्ता प्रतियोगिताले बालबालिका तथा युवाहरूको प्रतिभा उजागर गर्नुका साथै नेपाली कला, संस्कृति र सिर्जनशीलताको संरक्षण एवं प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा अझ व्यापक र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगी, प्रशिक्षक, अभिभावक, अतिथि, प्रायोजक, सञ्चारमाध्यम तथा सहयोगी संस्थाहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। कला, संस्कृति, प्रतिभा र सम्मानलाई एउटै मञ्चमा जोड्न सफल उक्त कार्यक्रम गण्डकी प्रदेशको सांस्कृतिक क्षेत्रमा स्मरणीय बनेको सहभागीहरूको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij