logo मंगलबार, भाद्र ३० २०८३

धनगढीमा ‘हिरोइन मिनाकुमारी’ गीति एल्बम भव्य रूपमा विमोचन कार्यक्रम सम्पन्न


  • बिचार खबर
  • बिहिबार, असार १८ २०८३

धनगढीमा ‘हिरोइन मिनाकुमारी’ गीति एल्बम भव्य रूपमा विमोचन कार्यक्रम सम्पन्न

धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्रसाद आचार्यले गर्नुभएको थियो। उहाँले सुदूरपश्चिमको मौलिक भाषा, कला र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ कम्पनीले निरन्तर सिर्जनात्मक कार्य गर्दै आएको बताउनुभयो।

यसैबीच, एल्बमको शीर्ष गीत ‘मिनाकुमारी’ पनि सार्वजनिक गरिएको छ। “जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…” बोल रहेको गीत सुदूरपश्चिमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो।

गीतमा गायक दिलबहादुर बिक र गायिका सन्चिता नेपालीको स्वर रहेको छ। भिडियोमा केशव भाट र मनिषा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ भने सुदूरपश्चिमका कलाकार अम्बिका प्रसाद आचार्य लगायत अन्य कलाकारहरूको समेत अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

गीतको निर्देशन नरेश नागरी र केशव भाटले संयुक्त रूपमा गरेका हुन्। छायांकन अनिल चौधरीले गरेका छन् भने संगीत संयोजन कृष्ण बाजुरेलीको रहेको छ। रेकर्डिङ द म्युजिक इरा स्टुडियोमा सम्पन्न गरिएको हो।

निर्माण पक्षका अनुसार डोटेली भाषा र सुदूरपश्चिमको मौलिक संस्कृति उजागर गर्ने उद्देश्यसहित तयार गरिएको यो गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाएको छ र आगामी दिनमा अझ व्यापक चर्चा पाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij