गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा उनले दश महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेख्य सुधार आएको बताएका हुन्।
गृहमन्त्री लेखकले संचारकर्मीसंग भने, ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन्। यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन। अर्को कुरा कानुन दश महिना पहिले कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानुन बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।’
उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए। उनले भने, ‘याे सरकारको पहिलो उद्देश्य राजनीतिक स्थिरता पनि हो। यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो। त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्याउँछ।’
नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अड्किएको छ नि? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने, ‘त्यसमा छलफल भइरहेको छ। संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउँछौँ। भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौं। अवान्छित गैरकानुनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ।’
‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ। फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन। यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पूरा अवधि सरकार टिक्छ,’ उनले भने।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij