- भारतले आफ्नो आर्थिक र सामाजिक विकासलाई प्राथमिकता दिनु आवश्यक छ र युद्धको विकल्पबाट टाढा रहनु उपयुक्त हुन्छ।
- पाकिस्तानसँगको संघर्षले केवल विश्वसामु भारतको छवि र आन्तरिक स्थिरता नोक्सान पुर्याउँछ, त्यसैले विवेकपूर्ण निर्णय आवश्यक छ।
- वर्तमान भारतको आर्थिक वृद्धिदर र विश्वव्यापी लगानी आकर्षणले देशलाई विकसित राष्ट्र बनाउने दिशामा लैजान सक्छ, जसका लागि शान्ति र स्थिरता आवश्यक छ।
आज भारतका लागि के महत्वपूर्ण छ? हामी लगातार अगाडि बढिरहेका छौं। आउने दुई दशकमा हामी मध्यम-आय भएको देश बन्न सक्छौं र तीन वा चार दशकमा एक विकसित राष्ट्र। तर यो स्वतःस्फूर्त हुने कुरा होइन। यसका लागि हामीले आफ्नो अर्जुनदृष्टि राख्नुपर्छ, स्मार्ट नीतिहरू बनाउनुपर्छ, कठोर परिश्रम गर्नुपर्छ र राष्ट्रिय सद्भाव कायम राख्दै अघि बढ्नुपर्छ।
सौभाग्यवश, युद्ध रोकियो। तर अचम्म लाग्दो कुरा के थियो भने, कति धेरै भारतीयले पाकिस्तानसँग खुला युद्ध चाहेका थिए। मिडिया खासगरी टेलिभिजनले नाटकीय साइरन, भारतीय सैनिकहरू पाकिस्तान छिरेको नक्कली खबर र कराँची बन्दरगाह नष्ट गरिएको झूटा दाबीमार्फत उन्माद बढाउने काम गर्यो। सामाजिक सञ्जालले पनि आगोमा घ्यू हाल्यो। यस्तो युद्धउन्माद विरुद्ध आवाज उठाउने जो कोहीलाई देशविरोधी, पाकिस्तान समर्थन र डरपोकको संज्ञा दिइयो ।
के भारतसँग पाकिस्तानजस्तो असफल राष्ट्रसँग लड्ने बाहेक अरु केही गर्न बाँकी छैन? के पाकिस्तानविरुद्धको कारबाही आतंकवादविरुद्धको सन्देशका रूपमा सुरु गरिएको थिएन? त्यसपछि पनि हामी पूर्ण युद्धतर्फ किन अगाडि बढ्नुपर्यो ? त्यसबाट के उपलब्धि हुन्थ्यो? र यदि पाकिस्तान आक्रोशित भएर हामीमाथि आणविक हमला गर्दथ्यो भने हामी कति आफ्ना नागरिक गुमाउन तयार थियौं? एक हजार? दश हजार ? एक लाख ?
तर धन्यवाद, सरकारमा शान्त दिमाग भएका मानिसहरू छन्। हामीले पनि आफ्ना विचार त्यस्तै बनाउनुपर्छ। यो सन् १९७१ होइन। त्यसबेला भारतको प्रतिव्यक्ति आय ११८ डलर थियो, कुल गार्हस्थ उत्पादन (जीडीपी) ६५ अर्ब डलर थियो, र आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम
त्यतिबेला पाकिस्तानलाई हराउनु राष्ट्रिय गौरवको विषय थियो, किनभने त्योबाहेक गर्व गर्न लायक अरू खास केही थिएन। त्यसबेला दुवै देशसँग आणविक हतियार थिएनन्, त्यसैले युद्धहरू पनि अपेक्षाकृत सीमाभित्र कायम रहनसक्थ्यो ।
तर यो सन् २०२५ हो। भारतको प्रतिव्यक्ति आय अहिले २,५०० डलरभन्दा बढी छ र जीडीपी ३.५ ट्रिलियन डलर पुगेको छ। हाम्रो अर्थतन्त्र ६ देखि ८ प्रतिशतको दरले बढिरहेको छ, जुन विश्वमै सबैभन्दा तीव्र हो। एप्पलले आफ्ना धेरैजसो आइफोन उत्पादन चीनबाट भारतमा सार्ने घोषणा गरिसकेको छ। यदि हामीले स्थिरता र सुरक्षा कायम राख्न सक्यौं भने यो निर्णयले विश्वव्यापी लगानी भारतमा भित्र्याउन सक्छ। किनभने कुनै पनि कम्पनीले युद्धरत राष्ट्रमा अर्बौं लगानी गर्न चाहँदैन।
त्यो लडाइँ जितेर पनि हामीले के साबित गर्थ्यौं र ? जस्तो कि हामीले पाकिस्तानलाई हरायौं? के त्यो नै हाम्रो बेञ्चमार्क हो? एउटा असफल राष्ट्रमाथिको विजय? यदि तपाईँलाई युद्धमा जितेपछि आतंकवाद समाप्त हुन्छ भन्ने लाग्छ भने अघिल्ला युद्धपछि किन आतंकवाद अन्त्य भएन?
वास्तवमा, पाकिस्तानसँगको केही दिनको लडाइँले उसलाई मात्र समाचारको केन्द्र बनायो। उनका नेता र सेनापतिहरूले विश्वव्यापी मिडियाको ध्यान पाए। किनभने उनीहरू भारतसँग लडिरहेका थिए। जस्तै, कुनै सेलिब्रेटीले कुनै ट्रोलको जवाफ दिएपछि त्यो ट्रोल थप चर्चित बन्छ।
त्यसैले, विवेकपूर्ण निर्णय के हो? पाकिस्तानसँग गुमाउन केही छैन। तर भारतसँग गुमाउन धेरै छ। पाकिस्तानको अस्तित्व नै द्वन्द्व र लडाइँमा आधारित छ, तर भारतका लागि यससँग अल्झिनु खतरनाक विचलन बन्न सक्छ