logo सोमबार, साउन ११ २०८३

युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेर आफै नजाने भए पुटिन


  • बिचार खबर
  • बिहिबार, जेष्ठ १ २०८२

युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेर आफै नजाने भए पुटिन
युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफै भने वार्तामा नजाने भएका छन्।

पुटिनले तेस्रो पक्षको मध्यस्थतामा भन्दा प्रत्यक्ष वार्ताबाट समस्या समाधान गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रस्ताव गरेका थिए।

उनले बिहीबार टर्कीको इस्तानबुलमा वार्तामा बस्ने प्रस्ताव गरेका थिए।

युक्रेनलाई प्रत्यक्ष वार्ता गरेर पुटिन आफै भने इस्तानबुल नजाने भएको क्रेमिलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

इस्तानबुल जाने वार्ता टोलीमा राष्ट्रपति पुटिनको नाम नरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

क्रेमलिनले तयार पारेको सूचीमा वार्ता टोलीको नेतृत्व पुटिनका मुख्यमध्येका सहयोगी तथा देशका सुप्रिम काउन्सिल ब्युरोका सदस्य भ्लादिमिर मेडिन्स्कीले गर्ने भनिएको छ।

युक्रेनबाट राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वकै प्रतिनिधिमण्डल जाने सम्भावना उच्च थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुटिनले वार्ताको प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। सोही अनुसार जेलेन्स्कीले इस्तानबुलमा बिहीबार वार्ता गर्ने पुटिनको प्रस्तावलाई स्वीकार गरेका थिए।

वार्तामा दीगो शान्ति स्थापना र युद्धका मुख्य कारण पहिल्याएर त्यसको समाधान खोज्ने भनिएको थियो।

मंगलबार जेलेन्स्कीले वार्तामा युद्धविराम बाहेकका विषयमा छलफल नहुने बताएका थिए। लगत्तै पुटिनले पनि नयाँ युद्धविरामबारे छलफल हुनसक्ने भनेका थिए। तर युद्धको मुख्य कारण प्राथमिकतामा रहने भनेका थिए।

पुटिन आफै वार्तामा नजाने भएपछि इस्तानबुलका प्रस्तावित वार्ता नै अनिश्चित बनेको  सिएनएनले जनाएको छ।

जेलेन्स्कीले आफू इस्तानबुल आउन तयार भएको तर रुसबाट पुटिन आफै सहभागी हुनुपर्ने बताएका थिए। उनले रूसका अरू प्रतिनिधिहरूलाई नभेट्ने पनि बताएका थिए। ‘रूसको सबै कुरा पुटिनमा निर्भर रहन्छ,’ उनले भनेका थिए।

खाडी मुलुकको भ्रमणमा रहेका ट्रम्पले युक्रेन र रूसको वार्तामा दबाब दिँदै परिस्थितिवश आफू सहभागी हुन नसकेको भनेका छन्। उनले आफ्नो उपस्थितिमा जेलेन्स्की र पुटिन दुवै खुशी हुने दाबी गरेका छन्। जेलेन्स्कीले वार्तामा ट्रम्प उपस्थित भए युक्रेन कृतज्ञ हुने भनेर ट्रम्पको भनाइमा सहमति जनाए।

तर प्रस्ताव गरे आफै वार्तामा नजाने भएपछि पुटिनको झुलाउने रणनीति पुनः एकपटक देखिएको बताए। यसले उनी शान्तिको पक्षमा नरहेको देखिएको पनि सिएनएनले लेखेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij