टेक्सास । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको हो ।
राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुभएको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मते पारित भएको हो ।
टेक्सासका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने राज्य सांसद(हाउस अफ रिप्रजेन्टेटिभ) डा सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले ‘बुद्ध डे’सम्बन्धी सङ्कल्प प्रस्ताव तयार गरी संसद्मा दर्ता गराएका थिए ।
उक्त अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जन बढी संस्था, नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायत विभिन्न देशका ६० भन्दाबढी बौद्ध भिक्षुहरुको उपस्थिति थियो ।
टेक्सास राज्यको संसद् नेपालमैत्री बन्दै गएको भन्दै यहाँका नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । टेक्सासको राज्य संसद्मा हालसम्म नेपाली मूलका सांसदहरुको प्रतिनिधित्व छैन । नेपालसम्बन्धी प्रस्तावमा राज्य सांसदहरुले उच्च महत्व दिँदै आएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।
टेक्सास नेपाली समुदायको बाक्लो बसोबास भएको राज्य हो । टेक्सासमा नेपाल र नेपालीको पहिचान स्थापित गराउनका लागि यहाँका नेपाली समुदायका व्यक्तिले लामो समयदेखि पैरवी गर्दै आएका थिए ।
हालसम्म टेक्सासको राज्य संसद्बाट नेपाल डे, लुम्बिनी डेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भइसकेका छन् । बुद्ध डे मनाउनेसम्बन्धी सङ्कल्प प्रस्ताव तेस्रो हो ।
बुद्ध डे मनाउनेसम्बन्धी प्रस्ताव नेपाल र नेपालीहरुको पहिचानका पक्षमा भएको थप सफलता भएको ग्रेटर अस्टिन नेपाल समाजका अध्यक्ष विदुर खतिवडाले बताए ।
अध्यक्ष खतिवडाका अनुसार टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी सङ्कल्प प्रस्ताव पारित गरेकाले हरेक वर्षको १५ मे लाई बुद्ध डेका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइनेछ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij