logo मंगलबार, भाद्र ३० २०८३

सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता


  • बिचार खबर
  • शनिबार, जेष्ठ ३ २०८२

सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता

३ जेठ, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक आज शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) पुगेका छन् ।

पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने बताए ।

‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौं’, उनले भने, ‘हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं ।’

हालसम्म सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । तर, अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् ।

अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij