३ जेठ, काठमाडौं । अमेरिकाका दुई राज्यका केही भागहरूमा आएको भीषण आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।
केन्टकी राज्यका अधिकारीहरूले जनाएअनुसार त्यहाँ आँधीका कारण १४ जनाको ज्यान गएको छ भने मिसौरीमा ७ जनाको मृत्यु भएको छ । यीमध्ये सेन्ट लुइस सहरका पाँच जना पनि रहेका छन्।
शनिबार बिहान केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लौरल काउन्टीमा आँधी आएको हो। अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्नेछ।
मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजार भवनहरूलाई क्षति पुर्याएको बताएका छन्। केही घरका छाना उडेका छन् भने विद्युत आपूर्ति प्रणाली पनि अवरुद्ध भएको छ।
सेन्ट लुइसमा विद्युत अवरोधका कारण करिब एक लाख घरधुरी प्रभावित भएका छन्। अग्निनियन्त्रण विभागका अनुसार आँधीबाट बढी असर परेका क्षेत्रका घरहरूमा स्वयं गई निरीक्षण गरिँदैछ।
केन्टकीका गभर्नर एन्डी बेशियरले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार रातिको आँधीमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिसौरीमा कम्तीमा सात जनाको ज्यान गएको छ भने भवनहरूमा फसेका व्यक्तिहरूको खोजी जारी रहेको अलजजिराले खबर लेखेको छ।
केन्टकीका अधिकारीहरूका अनुसार शुक्रबार राति लेरेल काउन्टीमा टोरनाडोले ठूला क्षति पुर्याएको थियो। ‘ध्वस्त क्षेत्रमा जीवितहरूको खोजी जारी छ,’ शेरीफ जोन रुटको कार्यालयले सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा भनिएको छ।
मिसौरी राज्यको सेन्ट लुइस सहरकी मेयर कारा स्पेन्सरले सहरमै पाँच जनाको मृत्यु भएको पुष्टि गर्दै ५,००० भन्दा बढी घर प्रभावित भएको जानकारी दिइन्। ‘हाम्रो सहर आज शोकमा डुबेको छ,’ उनले पत्रकारहरूसँग भनिन्, ‘ज्यानको क्षति र विनाश साँच्चिकै भयावह छ।’
सेन्ट लुइसबाट करिब २०९ किलोमिटर दक्षिणमा पर्ने स्कट काउन्टीमा अर्को टोरनाडोले दुई जनाको ज्यान लिएको र धेरै घाइते भएका तथा धेरै घरहरू ध्वस्त भएका शेरीफ डेरेक व्हीट्लीले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिए।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij