काठमाडौँ । नेपाली कांग्रेसका ६ नेताले आइतबार पूर्व उपसभापति गोपालमान श्रेष्ठ निवास कालिमाटीमा बैठक गरेका छन् ।
श्रेष्ठ निवासमा दिउँसो पूर्व उपसभापति त्रय श्रेष्ठ, विमलेन्द्र निधि, र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा प्रवक्ता डा.प्रकाशशरण महतबिच छलफल भएको हो । बैठकमा सहभागी विमलेन्द्र निधिले बैठकमा आगामी महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
‘खासमा आजको बैठक निरन्तरता मात्रै हो । हामीले यसअघि पार्टीको आन्तरिक राजनीति आगामी महाधिवेशनबारे छलफल गर्दै आएका छौँ,’ निधिले रातोपाटीसँग भने, ‘महाधिवेशनमा उम्मेदवार को हुने भन्दा पनि कसरी सम्पन्न गर्ने पार्टी र मुलुकलाई अगाडि बढाउने भन्नेबारेमा छलफल गर्यौँ ।’
यी नेताहरू बैठकमा बसेको तेस्रो पटक हो । गत फागुन २ गते सभापति शेरबहादुर देउवा निवासमा ११ नेताहरू बसेका थिए । गत वैशाख ११ गते डा.कोइराला निवासमा ७ नेताहरू बसेका थिए । आज ६ जनामा झरेका छन् ।
भेला भएका नेताहरू सबै संस्थापन पक्षीय हुन् । सिंह अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री छन् ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij