५ जेठ, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेट टिमप्रति गहिरो सम्मान र समर्थन व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक विशेष पोस्ट लेख्दै उनले नेपाली महिला क्रिकेटरहरूको संघर्ष र समर्पणलाई प्रशंसा गरेका हुन्।
‘‘क्रिकेट खेलेर के हुन्छ र?’ भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता’ उनले लेखेका छन्।
खड्काले नेपाली समाजमा अझै पनि महिलाहरूले खेल क्षेत्रमा प्रवेश गर्नका लागि सामना गर्नुपर्ने नकारात्मक धारणा र अवरोधप्रति संकेत गर्दै भने, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्।’
महिला खेलाडीहरूले सामाजिक दबाबलाई बेवास्ता गर्दै आफ्नो जीवन खेलकुदमा समर्पित गर्नु कुनै सजिलो कुरा नभएको उल्लेख गर्दै पारसले उनीहरूलाई सामाजिक सञ्जालमा आलोचना गर्नुको सट्टा निरन्तर हौसला दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
‘सामाजिक सञ्जालमा गाली गर्न सजिलो छ, तर मैदानमा दौडिनु त्यति सजिलो छैन’ उनले अगाडि लेखेका छन् ।
महिला टोलीको पछिल्लो सफलताको सन्दर्भ दिँदै उनले लेखेका छन्, ‘नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो।’
खड्काले अन्त्यमा टोलीलाई आगामी दिनहरूका लागि शुभकामना दिँदै अडिग भएर अघि बढ्न आग्रह गरेका छन्।
नेपाली टोलीले आज मात्रै यूएईलाई हराएर महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij