१२ जेठ, काठमाडौं । उज्वेकिस्तानमा जुन अन्तिम देखि सुरु हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपाली राष्ट्रिय महिला टिमले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली त्यही खेलका लागि अहिले अन्तिम तयारीमा छ । नेपाल र थाइल्याण्डबीच पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा यी दुई टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछन् ।
पहिलो पटक एएफसी वुमन्स एसिया कप खेल्ने लक्ष्य राखेको नेपाली महिला टोलीले थाइल्याण्डविरुद्ध हुने खेललाई महत्वका साथ हेरेको छ । महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले थाइल्याण्ड विरुद्धको खेलका लागि उत्सहित रहेको र एसियन कप छनोटका लागि महत्वपूर्ण हुने बताएका छन् ।
नेपाली महिला टिमले पहिलो पटक थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा थाइल्याण्ड नेपाल भन्दा ५२ स्थान माथि छ । विश्वकप खेलिसकेको थाइल्याण्ड ४७औं स्थानमा छ भने नेपाल ९९औं स्थानमा छ ।
‘थाइल्याण्ड बलियो टिम छ । विश्वकप खेलिसकेको छ । खेलाडीहरू उत्साहित छन् ठूलो टिमसँग खेल्न । पहिला टुर्नामेन्टहरू मात्र खेलिन्थ्यो फ्रेण्डली म्याच खासै थिएन । अहिले ठूला टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछौं’ मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अनलाइनखबरसँग भने, ‘हामीले राम्रो टिम संरचना बनाएर खेल्यौं भने यो खेलबाट एसियन क्वालिफायरमा फाइदा हुनेछ ।’
यस्तै ग्रीसमा व्यावसायिक फुटबल खेलेर बएकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पछिल्लो समय महिला फुटबलको चर्चा धेरै भएकोले टिममा ऊर्जा थपिएको र चुनौती पनि रहेको बताइन् । ‘चुनौती छ । अहिले महिला टिमले जुन उचाई पाएको छ । समर्थकहरूले फलो गर्नुभाछ । अझ हामीले राम्रो गर्नुपर्छ भन्ने भित्रैबाछ ऊर्जा आएको छ’ एन्जिलाले भनिन् ।
थाइल्याण्ड राम्रो टिम भएकोले पहिलो पटक खेल्दा धेरै कुरा सिक्न पाउने उनले बताइन् । ‘उनीहरू राम्रो टिम पनि हो । त्यहाँ गएर हामीले धेरै कुरा सिक्न पाउँछौँ । राम्रो टिमसँग जति खेल्यो त्यति अनुभव बढ्छ’ उनले भनिन्, ‘केही कुरा सिक्ने मौका पाउँछ । जति हाम्रो मिस्टेक छ त्यसमा सुधार गर्दै जानेहो । सकभर हाम्रो आफ्नो बेस्ट दिने हो ।’
पछिल्लो समय नेपालमा लगातार महिला गोल्डकपहरू भएकोले खेलाडी व्यस्त रहे । लगातार खेल्दा फाइदा भएपनि त्यसले खेलाडीहरू केही थाकेका थिए । तर अहिले नेपाली टिम थाइल्याण्डसँगको खेलका लागि तयार रहेको तामाङले बताए । ‘हामी तयारीको अन्तिम चरणमा छौं । खेलाडीहरू सबै मोफसल खेलेको भएर मोटिभेट छन् तर लगातार खेल्दा थकित छन् । एन्जिला र पुजा पनि आएको छ । तयारी राम्रो छ ।’
‘चन्द्रा भण्डारी, सुस्मा तामाङ, मनमाया दमाईहरू नयाँ आइराकोछन् । एकैपटक चेन्ज गर्दा टिमको बाउण्ड बिग्रन सक्छ । त्यसले गर्दा विस्तारै चेन्ज गर्दैं जाने हो फरक पर्दनै । छोटो समय क्याम्पमा झट्ट चेन्ज गर्दा गह्रो हुन्छ’ उनले भने, ‘नयाँ आइरहेको खेलाडीलाई विस्तारै चान्स दिने हो ।’
कमजोरी सुधार गर्ने अवसर
पछिल्लो समय नेपाली महिला टिमले खेलेको लगातार तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो । त्यसमा नेपाल विशेषगरी डिफेन्डिङमा चुकेको थियो । यस पटक त्यसमै केन्द्रीत गरेको तामाङले बताए । ‘हाम्रो टिम डिफेण्डिङमा चुकिराछौँ । तीन टुर्नामेन्टमा फाइनलमा चुकिराछौँ । त्यसमा हामीले फोकस गरेको छौँ । व्यक्तिगत रुपमा सबै राम्रो छ । सेप र स्ट्रक्चरमा धेरै काम गरेका छौँ । कस्तो गर्छ त्यो गएर हेरौँ । थाइल्याण्डको म्याच पनि देखाएका छौँ ।’
थाइल्याण्डसँग मैत्रीपूर्ण खेलका लागि खेलाडीहरू पनि उत्सहित रहेको प्रशिक्षक तामाङले बताए । ‘खेलाडीहरूमा छुट्टै खालको उत्साह छ । उनीहरू एनकरेज हुन्छन् । विश्वकप खेलिसकेको, अमेरिका र अष्ट्रेलियासँग खेलेको टिमसँग हामीले खेल्न पाउँदा उत्सह हुने भयो’ तामाङले भने, ‘प्लस हाम्रो टिमको कमजोरी र बलियो पक्ष पनि थाहा हुने भयो । सानो टीमसँग खेल्दा सधैँ हामीले दबाबमा राख्ने भयौँ । ठूलो टिमसँग हामी दबिने भयौँ । त्यसले गर्दा राम्रो र नराम्रो के छ छुट्याउने अवसर पाउनेछ ।’
कप्तान एन्जिलाले थाइल्याण्ड विरुद्ध दुई खेलमा आफ्नो कमजोरीहरू पत्ता लगाउने अवसर पनि हुने बताइन् । ‘यो दुई खेलले एसियन कप छनोटमा एकदम धेरै सपोर्ट गर्छ । कोचले दिएको टास्क सबैले फलो गर्नुपर्छ । यो दुई खेलले हामरो के मिस्टेक छ थाहा हन्छ र यसले एसियन कप छनोटमा धेरै सहयोग गर्छ’ उनले भनिन् ।
एसियन कप पुग्ने अवसर छ
सन् १९७५ मा सुरु भएको महिला एसियन कप नेपालले सन् ८० र ९० को दशकमा गरी तीन पटक खेलिसकेको छ । तर त्यसयता नेपालले खेल्न सकेको छैन । नेपालले महिला एसियन कपको लागि लगातार दोस्रो पटक छनोट खेल्दैछ
नेपाली टिम
गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल