थानेश्वर गौतमको स्वरमा सार्वजनिक प्रेम र बिछोडको कथामा आधारित गीतमा सम्पदा अमगाईर सुरेश कोहलीको भावुक अभिनय
गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ। प्रेम, विश्वास र बिछोडको पीडालाई समेटिएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री सम्पदा अम्गाईं र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा विशेषगरी सम्पदाको संवेदनशील अभिनयले दर्शकको ध्यान आकर्षित गरेको छ।
बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित सम्पदा अम्गाईं मोडलिङ, अभिनय, नृत्य र सञ्चार क्षेत्रमा सक्रिय छिन्। उनी एक प्रतिष्ठित संस्थामा व्यवस्थापकका रूपमा समेत कार्यरत छिन्। व्यावसायिक जिम्मेवारीसँगै कला र सञ्चार क्षेत्रलाई पनि निरन्तरता दिँदै आएकी सम्पदाले आफ्नो प्रतिभा र मेहनतका कारण छुट्टै पहिचान बनाउँदै लगेकी छन्।
सौन्दर्य प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी सम्पदा ‘मिस ब्युटिफुल नेपाल’ की विजेतासमेत हुन्। यसअघि ‘मिस प्लस टु चितवन’ लगायतका प्रतियोगिताको अनुभव बटुलेकी उनले मोडलिङ र अभिनयलाई निरन्तर अगाडि बढाउँदै आएकी छन्। विभिन्न म्युजिक भिडियोमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेकी सम्पदा नृत्यमा समेत उत्तिकै अब्बल मानिन्छिन्।
म्युजिक भिडियोसँगै चलचित्र क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाइसकेकी उनले चलचित्र ‘आ बाट आमा २’ मा समेत अभिनय गरेकी छन्। फरक–फरक विधामा आफूलाई प्रस्तुत गर्न सक्ने क्षमता भएकै कारण सम्पदा पछिल्लो समय कला क्षेत्रमा सम्भावना बोकेकी कलाकारका रूपमा परिचित हुँदै गएकी छन्।
‘आँखामा बसेको मान्छे’मा उनले प्रेम, समर्पण र रोगका कारण निम्तिएको बिछोडको पीडालाई अभिनयमार्फत जीवन्त बनाउने प्रयास गरेकी छन्। जीवनभर सँगै रहने सपना देखेका प्रेमी–प्रेमिकामध्ये युवती गम्भीर रोगका कारण टाढिएपछि युवक पुराना सम्झनामा हराउने कथावस्तु भिडियोमा समेटिएको छ। सम्पदाले प्रेम र पीडाका संवेदनशील भाव प्रस्तुत गरेकी छन् भने सुरेश कोहलीले बिछोडको पीडा बोकेको प्रेमीको भूमिका निर्वाह गरेका छन्।
सुरेश कोहली नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय कलाकार हुन्। उनले यसअघि ‘सान्नानी’, ‘मायाको धुन’, ‘वैशाखे घाम’ र ‘मुया रानी’ लगायतका गीतका भिडियोमा अभिनय गरिसकेका छन्। ‘आँखामा बसेको मान्छे’मा सम्पदासँगको उनको सहकार्यले गीतको भावनात्मक कथालाई थप प्रभावकारी बनाएको छ।
जननी नेपालको प्रस्तुतिमा तयार भएको गीतमा थानेश्वर गौतमको स्वर तथा संगीत र के.पी. खतिवडाको शब्द रहेको छ। कथा तथा निर्देशन विशाल घिमिरेले गरेका हुन्। बुद्ध थापा र उनको टोलीले छायाङ्कन गरेको भिडियोमा सरिता मगरको मेकअप, नारायण डंगालको संगीत संयोजन तथा अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ खड्ग बजुरालीले गरेका हुन्।
मोडलिङ, अभिनय, नृत्य, सञ्चारकर्म र व्यवस्थापकीय जिम्मेवारीलाई सँगसँगै अघि बढाइरहेकी सम्पदा अम्गाईंको पछिल्लो प्रस्तुतिले उनको बहुआयामिक प्रतिभालाई पुनः उजागर गरेको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij