काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनस्थित बाटिका मन्टेश्वरी स्कुलले अभिभावक दिवससहित ग्रेजुएसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। एक दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको उक्त विद्यालयको कार्यक्रम बौद्धस्थित नेपाल साहित्य सदनमा आयोजना गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति दिँदै उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। समारोह समाजसेवी रवि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय जलवायु विज्ञान विभागका उपप्राध्यापक कुमार अर्याल, बुढानीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष शम्भु भट्टराई, त्रिज्योति स्कुलका प्रिन्सिपल गणेश मिश्र तथा सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडा लगायतको विशेष उपस्थिति रहेको थियो।
समारोहका अवसरमा ग्रेजुएसन पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट तथा प्रतिभाशाली विद्यार्थीहरूलाई मेडलबाट सम्मान गरिएको थियो। साथै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको विद्यालयले जनाएको छ।
कपन क्षेत्रका जागरूक महिलाहरूको पहलमा सञ्चालित उक्त मन्टेश्वरी स्थानीय अभिभावकमाझ लोकप्रिय शैक्षिक संस्था रूपमा स्थापित भएको छ। विद्यालयमा बालमैत्री, सुरक्षित र स्वच्छ वातावरणमा अध्ययन–अध्यापन गरिँदै आएको छ। अनुभवी र दक्ष शिक्षिकाहरूबाट बालबालिकाको उमेरअनुसारको सिकाइ पद्धति अपनाई खेलकुद, सिर्जनात्मक क्रियाकलाप तथा व्यवहारिक अभ्यासमार्फत शिक्षण गरिन्छ।
विद्यालयले बालबालिकाको समग्र हेरचाहलाई प्राथमिकता दिँदै बेबी केयरको व्यवस्था समेत गरेको छ। साथै, विद्यार्थीहरूलाई दैनिक तीन पटक पौष्टिक खानाखाजा उपलब्ध गराइने व्यवस्थाले अभिभावकहरूको विश्वास अझ मजबुत बनाएको छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र माया–ममता सहितको शिक्षण पद्धतिका कारण उक्त विद्यालयले कपन क्षेत्रमा उत्कृष्ट किड्स स्कुलको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij