कैलाली, असार ६ — सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुलेमा भगवान गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गर्नुभएको छ।
नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुखले बुद्ध प्रतिमाको अनावरण तथा पार्कको शिलान्याससँगै वर र पीपलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको समेत शुभारम्भ गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेश बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न प्रदेश भएकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता स्थलहरूले प्रदेशको पहिचान, सामाजिक सद्भाव र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
प्रदेश प्रमुखले कार्यक्रमस्थलमा रहेको प्राकृतिक पानीको मुहान तथा त्यसबाट निस्कने बुलबुलाको मनमोहक दृश्यले आफूलाई अत्यन्त प्रभावित बनाएको उल्लेख गर्दै उक्त क्षेत्रलाई प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। त्यसका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध महासंघका केन्द्रीय अध्यक्ष बोधि ज्ञान, बुद्ध विहार धनगढीका श्रद्धेय काठमाडौं विश्व शान्ति विहार का श्रदय भन्ते बोधि ज्ञान धम्मरत्न, अध्यक्ष कमलबहादुर पुन, विभिन्न गुम्बाका भिक्षुहरू, सुदूरपश्चिमका प्रथम नायक तथा वरिष्ठ चलचित्रकर्मी एवं शिक्षाविद् अम्बिका प्रसाद आचार्य, समाजसेवी जितु तुलाधर, अतिथी सुक बाहादुर तामाङ, शक्ति प्रसाद सृस मगर तथा कलाकार चुडामणि जोशी र मोहनप्रसाद भुसाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार, समाजसेवी, जनप्रतिनिधि, वडा अध्यक्षहरू तथा भारतबाट आएका अतिथिहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij