बुढानिलकण्ठ नगरपालिकाले सोमबार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो।
विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति आक्रोश प्रकट गरिएको छ। झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ। सो कार्यप्रति सम्बन्धित निकायहरू गम्भीर नभएको भन्दै बर्खामा नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याको सास्ती व्यहोर्नु परिरहेको उल्लेख गरिएको छ।
धर्ना कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका–१०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले एक स्वरमा तत्काल समस्या समाधान र ढिलाइ भएका सबै योजनाहरूमा गति दिन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे।
नगर प्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने चेतावनी दिँदै, जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन तबसम्म कार्यालय प्रवेश अवरुद्ध राखी धर्ना जारी राखिने बताए।
© 2026 All right reserved to bicharkhabar.com | Site By : sobij