logo बिहिबार, कार्तिक ६ २०८३

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा सिड्नीमा एजुकेसन एन्ड माइग्रेसन एक्स्पो


  • बिचार खबर
  • सोमबार, कार्तिक ३ २०८३

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा सिड्नीमा एजुकेसन एन्ड माइग्रेसन एक्स्पो

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रमा दुई दशकको अनुभव हासिल गरेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। संस्थाको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आगामी अक्टोबर २६ (कात्तिक ९ गते) सोमबार सिड्नीस्थित ऐतिहासिक सिड्नी टाउन हलमा एक्स्पो आयोजना गर्न लागिएको हो।

बिहान ११ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ। सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजना हुने कार्यक्रम अस्ट्रेलियामा अध्ययनरत, उच्च शिक्षा हासिल गर्न चाहने तथा करियर र आप्रवासनसम्बन्धी परामर्श खोजिरहेका विद्यार्थीहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

एक्स्पोमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी उच्च शिक्षाका अवसर, अध्ययनका विकल्प, विषय तथा कोर्स परिवर्तन, भर्ना प्रक्रिया र छात्रवृत्तिसम्बन्धी जानकारी लिन सक्नेछन्। साथै, आफ्नो शैक्षिक योग्यता र व्यावसायिक लक्ष्यअनुसार भविष्यको अध्ययन तथा करियर योजना बनाउन आवश्यक परामर्श प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।

त्यसैगरी, अस्ट्रेलियामा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका विद्यार्थीले आफ्नो योग्यता र व्यक्तिगत परिस्थितिअनुसार उपलब्ध आप्रवासनका सम्भावित मार्ग, भिसा प्रक्रिया तथा सम्बन्धित मापदण्डबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ।

‘कनेक्टिङ लाइफ एन्ड लर्निङ’ भन्ने नारासहित अघि बढिरहेको ग्रेस इन्टरनेशनलले नेपाल, अस्ट्रेलियालगायत विभिन्न देशमा शैक्षिक तथा आप्रवासन परामर्श सेवा प्रदान गर्दै आएको छ। दुई दशकको अनुभवलाई अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीका शैक्षिक, व्यावसायिक र आप्रवासनसम्बन्धी आवश्यकतासँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।

एक्स्पोमा ग्रेस इन्टरनेशनलका सहसंस्थापक तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष एन्ड्र्यु पौडेल पनि सहभागी हुनेछन्। उनले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

अन्तरक्रियाका क्रममा विद्यार्थीले भोगिरहेका शैक्षिक तथा व्यावसायिक समस्या, व्यावहारिक चुनौती र उनीहरूका सुझाव सुन्ने तथा आवश्यक विषयमा सरोकारवालासँग संवाद अघि बढाउने उद्देश्य राखिएको छ।

पौडेलका अनुसार विद्यार्थीका वास्तविक अनुभव र आवश्यकतालाई नजिकबाट बुझ्नु तथा उनीहरूका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्नु महत्त्वपूर्ण छ। उनका अनुसार एक्स्पो विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने अवसरमा मात्र सीमित नभई अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका अनुभव, चुनौती र भविष्यका सम्भावनाबारे प्रत्यक्ष संवाद गर्ने साझा मञ्चसमेत बन्नेछ।

सन् १८८९ मा निर्माण सम्पन्न भएको सिड्नी टाउन हल सहरको प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो। सिड्नीको जर्ज स्ट्रिटस्थित यस ऐतिहासिक भवनमा आयोजना हुने एक्स्पोले विद्यार्थी, शैक्षिक संस्था तथा परामर्शदाताबीच प्रत्यक्ष संवाद र सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आयोजकले अस्ट्रेलियामा अध्ययनरत, थप अध्ययनको योजना बनाइरहेका, करियरका नयाँ अवसर खोजिरहेका तथा आप्रवासनसम्बन्धी जानकारी लिन इच्छुक नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

कार्यक्रम विवरण
कार्यक्रम: एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६

आयोजक: ग्रेस इन्टरनेशनल

मिति: अक्टोबर २६, २०२६ (सोमबार)

समय: बिहान ११ः३० देखि अपराह्न ४ः३० बजेसम्म

स्थान: लोअर टाउन हल, सिड्नी टाउन हल, ४८३ जर्ज स्ट्रिट, सिड्नी, अस्ट्रेलिया

सहभागिता: ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधि

विशेष उपस्थिति: एन्ड्र्यु पौडेल, सहसंस्थापक, ग्रेस इन्टरनेशनल तथा अध्यक्ष, इक्यान

लक्षित सहभागी: अस्ट्रेलियामा अध्ययनरत, थप अध्ययन गर्न चाहने तथा आप्रवासन परामर्श खोजिरहेका विद्यार्थी

प्रवेश शुल्क: निःशुल्क

वेबसाइट: www.graceintlgroup.com


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

© 2026 All right reserved to bicharkhabar.com  | Site By : sobij